बिज्ञहरु भन्छन अझै पनि नेपालमा ८ रेक्टरको भन्दा ठूलो भुकम्प जान सक्छ ।

बिज्ञहरु भन्छन अझै पनि नेपालमा ८ रेक्टरको भन्दा ठूलो भुकम्प जान सक्छ ।

भक्तपुर । गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्व क्षेत्रमा असर पर्ने गरी ठूलो भूकम्प गए पनि पश्चिम नेपालमा कुनै असर पुगेको थिएन । भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुन विज्ञले सुझाएका छन् । सविन शर्माले आजको राजधानी दैनिकमा यो समाचार लेखेका छन्  | फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदी नेतृत्वको टोलीले लामो समय लगाएर गरेको भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेको छ । १२ वैशाख २०७२ को भूकम्पको समयमा खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक लोकविजय अधिकारी र सुर्खेतस्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन् ।

त्यस्तै, पीएसएल रिसर्च युनिभर्सिटीका हेलेन लियोन केन, आर्यजोन फ्रान्सका विशेषज्ञ लाउरेन्ट वोलिंगर, पेरिसकै इन्स्टिच्युट अफ फिजिक्स, दि ग्लोब फ्रान्सका भेरोन्क्वी फररा, इन्स्टिच्युट अफ अर्थ साइन्स, युनिभर्सिटी अफ लाउसान्ने स्विट्जरल्यान्डका ग्योर्गी हेनेन्वी र युनिभर्सिटी अफ स्ट्रस्वर्ग फ्रान्सका जेरोमी भेग्र्ने सम्मिलित विज्ञहरूले लामो समयदेखि नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए । अध्ययनबाट नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत पाइएको अधिकारीले जानकारी दिए ।

यसअघि भारतीय वैज्ञानिकले पनि हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको अध्ययन रिपोर्ट सार्वजनिक गरेका थिए । जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको थियो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमै ठूलो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’नेपालको भू–बनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भूउपग्रहबाट खिचिएका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन तथा अनुसन्धान गरिएको भूगर्भविद् अधिकारीले बताए । उनका अनुसार भूकम्पको जोखिम अत्यधिक भएकाले सुरक्षित संरचना निर्माण आवश्यक छ । प्रतिवेदनले नेपालको पश्चिम क्षेत्र बढी जोखिममा रहेकाले भौतिक संरचाना सुरक्षित हुने गरी बनाउन सुझाएको छ ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले पछिल्लो समय नेपालका भूगर्भविद्सहितको अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जान सक्ने दाबीसमेत गरेका छन् ।
‘भूकम्प आउन सक्ने विषयमा अध्ययन तथा अनुसन्धान भए पनि यही समयमा भूकम्प आउँछ भन्न सकिँदैन,’ भूगर्भविद् अधिकारीले राजधानीसँग भने, ‘यस्तो जोखिमयुक्त क्षेत्रका संरचना बलियो बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ विपद्पूर्व नै कम क्षति हुने गरी संरचना निर्माण गर्नेतर्फ लाग्नुपर्ने उनको सुझाव छ ।

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पको इतिहास अध्ययन गरी सार्वजनिक गरिएको पछिल्लो अनुसन्धान प्रतिवेदनले हिमालय क्षेत्रमा ठूलो क्षति पुग्ने गरी भूकम्प जाँदा गोरखा भूकम्पभन्दा पनि बढी क्षति पुग्न सक्ने अनुमान गरिएको छ । ‘सबैभन्दा बढी विनाशकारी हुने अनुमान गरिएको भूकम्पबाट १० लाखसम्म मानिसको ज्यान सक्छ,’ भूगर्भविद् अधिकारीले भने, ‘सरकारले यस्तो विपत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’ गोर्खा भूकम्पबाट नेपालमा करिब ९ हजार मानिसको ज्यान गएको थियो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले करिब तीन वर्षअघि एउटा शोधपत्र सार्वजनिक गरेका थिए । अन्तर्राष्ट्रिय जर्नल ‘नेचर जियोसाइन्स’ मा छापिएको उनीहरूको लेखमा १२ वैशाखको भूकम्पको तरंग कहाँ पुगेर अड्कियो भनी व्याख्या गरिएको छ । गोरखा र दोलखा केन्द्रबिन्दु बनाएर गएका भूकम्पीय तरंग काठमाडौंको दक्षिणी भू–सतहभन्दा ११ किलोमिटर तल अड्किएर बसेको जर्नलमा उल्लेख छ । त्यो चिरा सतहसम्म नआउनु र त्यसको शक्ति काठमाडौंमुनि थुप्रिनुले यो क्षेत्र अहिले पनि भुइँचालो जोखिममा छ भनी इलियटले लेखेका छन् ।

खानी तथा भूगर्भ विभागले भूकम्प गएको केही साताभित्रै नेपालका विभिन्न ठाउँमा राखिएका जीपीएस स्टेसनबाट तथ्यांक निकालेको थियो । जीपीएस आँकडाअनुसार भुइँचालो दरार काठमाडौंको दक्षिणी भू–सतहमुनि अड्किएको देखाएको छ ।गोरखा भूकम्पको जस्तै अर्को धक्का आएर गाँठो परेको चिरा एकैचोटि चुरे फेदमा पु¥याइदिन सक्छ । त्यसपछि भएभरको शक्ति एकैचोटि ‘रिलिज’ हुन सक्छ । जीपीएसबाट प्राप्त तथ्यांकअनुसार काठमाडौंमुनि अड्किएको चिरालाई चुरे फेदसम्म पुग्न लगभग ७ म्याग्निच्युडकै धक्का आवश्यक पर्छ । यति ठूलो शक्ति एकैचोटि बाहिर आउनु जोखिमपूर्ण हुनेछ । बेलायती वैज्ञानिक जन इलियटले आफ्नो शोधमा यही अवस्था खुलाउँदै काठमाडौंमा ‘अर्को ठूलो भुइँचालो जोखिम’ औंल्याएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *